
विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- Blogs
- March 3, 2025
लुम्बिनी — लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गरे । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उनले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने बताए ।
विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन् ।

त्यसअवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताए । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको घोषणाअनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरु स्थापना गर्दै जाने बताए ।
